Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्ः पम्फा भुसाल

सत्तारुढ नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको बताएकी छन् ।

आज शुक्रबार अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ सत्ता गठबन्धन शुद्ध नभएको टिप्पणी गरिन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।

‘नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्‍याउनु पर्छ’, उनले भनिन्, ‘यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ ।’

उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन् । ‘यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ’ उनले थपिन् ‘तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो ।’

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् । उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् ।