Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट नजिकै बिहीबार साँझ सवा ६ बजे श्रीमानले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षीय सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती पवित्रा राईमाथि कुटपिट गरेको आरोप छ । कुटपिटपछि गम्भीर घाइते भएकी पवित्रालाई भक्तपुर अस्पताल लगिएको थियो ।


त्यहाँ उपचारको क्रममा राति सवा ७ बजे उनको मृत्यु भएको डिएसपी पाठकले बताए । कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले अनुसन्धान गरिरहेको छ । शव पोष्टमर्टमको लागि भक्तपुर अस्पतालमा राखिएको छ ।