Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गजुरी बस दुर्घटना: दुई जनाको शव फेला, बेपत्ता एकको खोजी कार्य जारी (अपडेट)

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो। योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो। बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन्। उनको खोजी कार्य जारी छ। सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए।