Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जीवित छँदै आफ्नै मृत्यु प्रमाण पत्र बनाएपछि...

जीवित छँदै आफ्नै मृत्यु प्रमाण पत्र बनाउने एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको नक्कली लेटर प्याड र छाप प्रयोग गरी कीर्ते मृत्यु प्रमाण पत्र बनाउने रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–४ छिपागढ घर भएका ४४ वर्षीय शिव नारायण सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए ।

उनले नवलपरासी बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित गंगा मावि अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए । उनले आफ्नो २०६९ माघ ५ गते कालगतिले मृत्यु भएको कीर्ते प्रमाण बनाएका हुन् । ‘२०६९ माघ ५ गते शिव नारायण सिंहको असामयिक निधन भएकाले उक्त विवरण प्रमाणित गरिन्छ।’ रोहिणी गाउँपालिका–४ का वडाध्यक्ष तारानाथ यादवको किर्ते हस्ताक्षर प्रयोग गरी बनाइएको नक्कली प्रमाण पत्रमा उल्लेख छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नक्कली लेटर प्याड बनाएर आफ्नो मृत्यु भएको किर्ते सतगत पुर्जीसमेत बनाएको सूचना अधिकारी पन्थीले बताए । कीर्ते कागजपत्र बनाएर राखेको भन्ने सूचनाको आधारमा उनी बसोबास समेत गर्दै आएको क्यान्टिनमा खानतलासी गर्दा उक्त कागजात फेला परेको पन्थीले जानकारी दिएका छन् । प्रहरी अभिलेखअनुसार उनी २०६४ सालमा नवलपरासी जिल्लाबाट हातहतियार खरखजना मुद्दामा थुनामा परी सजाय काटेको देखिएको छ ।

लामो समयदेखि उनी भारतमा रोजगारी गरेर फर्केको प्रहरीले जनाएको छ । कीर्ते मृत्यु प्रमाण पत्र बनाउनुको कारणबारे सिंहले प्रहरीसमक्ष केही बताएका छैनन् । भारतमा लामो समयदेखि काम गरेका कारण त्यहाँ कुनै अपराधिक क्रियाकलाप गरेको हुन सक्ने र भारतमा रहेको प्रमाणलाई नष्ट गराउने उद्देश्यले उक्त कागज बनाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका सिंहलाई लिखितसम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइएको सूचना अधिकारी पन्थीले जानकारी दिए ।