वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध नक्कली कागजात पेश गरी नागरिकता दिलाएको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरूद्ध जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले जानकारी दिएका छन् ।
उनीविरूद्ध केहि समयअघि जाहेरी आाएको र आज दर्ता गरिएको उनले जानकारी दिएका छन् । अहिले लिखत र नागरिकतासम्बन्धी कसुरमा जाहेरी दिएको डिएसपी थापाले बताए । एक किशोरीलाई मेयर सिंहले नागरिकता दिलाएको आरोप छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा समेत उजुरी परेको थियो ।
झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध जाहेरी परेको हो । वीरगञ्ज महानगरपालिका–३ बाट २०७१ कात्तिक २० गते जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो । २०७५ साउन १३ गते पर्सा प्रशासनबाट रूविनाको नागरिकता जारी भएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिएको थियो ।