Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रचण्ड, यी हुन् टुंगो लागेका मन्त्रीहरु

राष्ट्रपति कार्यालय शीतल निवास पुगे पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । सत्ता समीकरण बदलिएसँगै बनेको मन्त्रिपरिषद् विस्तारका लागि नामावलीसहितको पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। 

आजै सपथ गराउने तयारी स्वरुप उनी राष्ट्रपति कार्यालय पुगेका र राष्ट्रपतिले समय तोकेपछि सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सम्भवत ५ बजेतिर सपथ गर्ने तयारी गरिएको जनाइएको छ । केही मन्त्रीहरूलाई बिदाइका समयमै सपथका लागि निम्तो आइसकेको स्रोतले बताएको छ। 

प्रधानमन्त्री प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लिएर गएका छन्। तीन जनाले सोमवार नै विना विभागीय मन्त्रीको शपथ लिएका छन्। बाँकी १४ जनाले आज शपथ लिनेछन्।

मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्भवतः आजै अपरान्ह ५ बजे मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको बताइएको छ । तर सरकारका तर्फबाट शपथका सम्बन्धमा राष्ट्रपति कार्यालयमा आधिकारिक पत्र पुगिनसकेको बताइएको छ । मन्त्री हुनेहरुमा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुंगो लागेको छ ।

त्यस्तै, नेकपा एमालेले आठ जना मन्त्रीको टुंगो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहेका छन् । एमालेबाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्ने निश्चित भएको बैतडी एमाले नेता दामोर भण्डारीले बताए ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुंगो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरुको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।