Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

घरमा आएका ओली र प्रचण्डसँग माधवले राखे वाम एकताको माग, होला त एकता?

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको माग गरेका छन् । भेटवार्ताका लागि आफ्नो निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीसँगको कुराकानीमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी सरकारमा जाने अडान लिएका हुन् ।

कुराकानीका क्रममा उनले वाम एकताको माग गरेको अध्यक्ष नेपालको सचिवालयले पुष्टि गरेको छ । एकीकृत समाजवादीलाई पनि नयाँ सरकारमा सहभागी गराउने पहलस्वरुप ओली र प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओलीसँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीे माधव नेपाल निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् । उनीहरूबीच छलफल सुरु भएको छ । उनीहरूले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

तर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।