Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रन बनाएको हो । 

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २ विकेट लिए । 

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो। 

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।