Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा

गोरखा । जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जबाफदेही बनाउन क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

“अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्युआर कोड पनि प्रयोग गर्न सक्छन्”, उनले भने, “त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्युआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ ।” कार्यालयले बिहीबारदेखि क्युआर कोड प्रयोगमा ल्याएको हो ।

प्रहरी कार्यालयमार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यका साथ क्युआर कोड सेवा सुरु गरिएको सूचना अधिकारी खड्काको भनाइ छ । “क्युआर कोडको प्रयोगले प्रहरीको सेवालाई छिटोछरितो गर्न पनि सहज हुनेछ”, उनले भने, “सेवा प्रवाहको व्यवस्थापन, जबाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवं सुशासन कायम गर्न यसले थप सहयोग पुग्नेछ ।”

सेवाग्राहीलाई क्युआर कोड प्रयोग गर्न कार्यालय आउँदा सहजै देखिनसक्ने ठाउँमा क्युआर कोड टाँसिएको उनले बताए । नागरिकसँग प्रहरीको सहज पहुँच विस्तारका लागि प्रविधिको प्रयोगले सहयोग पुग्ने प्रहरीले जनाएको छ ।