Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु,पोष्टमार्टममा बलात्कार भएको पुष्टी भएन

चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । 

एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । तर, परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका थिए ।