Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

भारतसँग सीमा जोडिएको ६२ किमि क्षेत्रमा गाडियो नेपालको राष्ट्रिय झण्डा, स्थानीयले गरे स्वागत

जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका ६२ किलोमिटर क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो ।

कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा झण्डा राख्ने कामको शुरुवात गरिएको सुनसरी प्रशासनले जनाएको छ । नेपाली भूमि जोकोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यले सीमामा राष्ट्रिय झण्डा राख्ने अभियान अघि बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् ।

आचार्यले भारतसँग सीमा जोडिएको सुनसरीतर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपीसहितका सुरक्षा निकायका पोष्ट र खुला रूपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताएका छन् । प्रजिअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे ।

सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ । ‘सीमा क्षेत्रको अवस्थासँगै स्थानीयको समस्या र गुनासो बुझ्न पैदल यात्रामा निस्किएका थियौँ । सो क्रममा भारतसँगको खुला नाका क्षेत्रमा नेपाली भूभाग कहाँसम्म पर्छ भनेर ठम्याउन जोकोहीले नसक्ने अवस्था देखियो । राष्ट्र र राष्ट्रियाताको हितमा आवश्यकता समेत महसुस भई राष्ट्रिय झण्डा फहराउने अभियानमा जुटेका हौं’, प्रजिअ आचार्यले भने ।

नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ । नेपालतर्फको सुनसरीको भूभागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो । जसलाई स्थानीयवासीले प्रसासनको सही निर्णयका रूपमा लिएका छन् ।