त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।
घरेलु मैदानमा जारी सिरिजको लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य पछ्याउँदै नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै, कुशल भुर्तेलले १२, आशिफ शेखले ८, गुल्सन झाले ३८, दीपेन्द्रसिंह ऐरीले ४ र कुशल मल्लले २ रन बनाए ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको खेलमा नेपालविरुद्ध नेदरल्यान्ड्स १९ ओभर ३ बल खेल्दै १२० रनमा अलआउट भएको थियो। नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए ।
टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिदै उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै करन केसी र कुशल मल्लले २/२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
जितसँगै नेपालले सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ भने पहिलो खेलमा नेदरल्याण्ड्ससँग बेहोरेको हारको बदला पनि लिएको छ। नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो। नामिबियाविरुद्ध पहिलो खेलमा २० रनको पराजय भोगेको नेपालले शुक्रबार ३ रनको जित निकालेको थियो।