Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज:

नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेदरल्यान्ड्स

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिग चरणको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

अहिले केहीबेरमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितसहित फाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदै छ।

नेपालले आजको खेलमा कुशल भुर्तेललाई मौका दिँदा अनिल साहालाई बेन्चमा राखेको छ। अनिल साहले यसअघि नामिबियाविरुद्ध शुक्रबार भएको खेलमा १७ बलमा २३ रन बनाएका थिए। त्रिकोणात्मक सिरिजको शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्ने भएकाले नेपाल दोस्रो जितको प्रतीक्षामा छ।

नेपालले लिग चरणको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राख्न सफल भएको थियो।