Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अमेरिकाको पर्यटक प्रवर्द्धकमा दोहोरिए विनोद अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । मन्त्रालयले बिहीबार विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो ।

अधिकारीले दोस्रो पटक यो जिम्मेवारी पाएका हुन् । यसअघि पनि अधिकारी मन्त्रीस्तरीय निर्णयबाट चार वर्षका लागि अमेरिकाका लागि पर्यटक प्रवर्द्धक नियुक्त भएका थिए । सरकारले पर्यटनको क्षेत्रमा वृहत्तर योगदान दिने व्यक्तिलाई पर्यटक प्रवर्द्धकको जिम्मेवारी दिँदै आएको छ । दोहोरिएर यो जिम्मेवारी पाउने अधिकारीले १५ वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा योगदान दिइरहेका छन् ।

यूएन तथा नेटजीओ जस्ता अन्तर्राष्ट्रिय संस्थासँग हातेमालो गरी नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अधिकारीले वृत्तचित्र निर्माण तथा फोटो भिडियोमार्फत पनि नेपाललाई विश्वसामु चिनाउन योगदान गर्दै आएका छन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका, २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गरेको छ ।

सगरमाथाको २८ औं पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पाको आरोहणलाई समेटेर ‘एभरेस्टमेन’ शीर्षकको डकुमेन्ट्री निर्देशन गरेका अधिकारीले हालसालै नेपालबाट स्ट्यान्डअप कमेडियनको टोली लिएर मनोरञ्जनात्मक कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यको बारेमा पनि प्रचार गरेका थिए ।

अधिकारीले नेपाल सरकारको यो निर्णयले आफूलाई जिम्मेवारीका साथ काम गर्न ऊर्जा प्रदान गरेको बताए । ‘सरकारले अमेरिकाका लागि दोहो(याएर यो जिम्मेवारी प्रदान गर्ने कुरालाई मैले उपलब्धिको रुपमा लिएको छु,’ अधिकारीले भने, ‘विदेशमा बस्ने नेपालीहरु त्यसै पनि देशका पर्यटकदूत हुन् । तर औपचारिक जिम्मेवारी पाउँदा यसले त्यही काम गर्न सजिलो बनाउँछ । सरकारले दिएको यो जिम्मेवारी अपेक्षाअनुसार निर्वाह गर्न म कटिबद्ध छु ।’