Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक टी–२०आई सिरिज:

नेपालले नामिबियालाई ३ रनले हरायो, फाइनलमा पुग्ने सम्भावना कायम

नेपालले त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रनले हराएको छ । रोमाञ्चक खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु टिम नेपालले त्रिदेशीय शृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।  

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । 

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।