Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

होस्टेलमा मृत भेटिएकी शालिनको शव पोष्टमर्टमका लागि टिचिङ अस्पतालमा

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिकएकी १४ वर्षीया शालिन पोखरेलको शब पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

गत शनिबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको शब काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए । सो जाहेरीपछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन् । उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति समेत दिएको छ । तर, उनका परिवारले भने उनको आत्महत्या नभई बलात्कारपछि हत्या गरिएको दाबी गरिरहेका छन् ।