नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्व कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा पक्राउ परेर अहिले अनुसन्धानमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
भ्रष्टाचार मुद्दामा अख्तियारको फन्दामा परेकै बेला विकल पौडेलले नेपालबाट पैसा लगेर अमेरिकामा घर किनेको खुलेको छ । उनले पत्नी डा. एलिना बस्नेतको नाममा अमेरिकाको न्युयोर्कमा घरजग्गा किनेको पाइएको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले पौडेलद्वयलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको पिआर लिएको देखिएकाले प्रमाण नष्ट गर्न सक्ने र भाग्न सक्ने देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ ।
विकलले पत्नी एलिनाको नाममा न्युयोर्कमा ५ लाख १५ हजार अमेरिकी डलरमा घरजग्गा खरिद गरेको स्रोतले जानकारी दिएको छ । साढे दुई वर्षअघि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएकै बेला विकलले अमेरिकामा पत्नीको नाममा घरजग्गा खरिद गरेका हुन् स्रोतले जानकारी दिएको छ । सुरक्षण मुद्रण केन्द्रको उपकरणलगायत खरिदमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका उनी अमेरिका पुगेर पत्नीका नाममा घर जोडेर फर्किएको स्रोतले बताएको छ । विकलले २०७७ पुसमै अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (एलपिआर) लिइसकेका छन् । उनले एलपिआर पाएपछि घर किनेको पाइएको छ । उनले पत्नी एलिनाको नाममा अमेरिकाको न्युयोर्कस्थित ६३७० चुलिपउड एलएन जेम्सभिलमा घरजग्गा किनेका हुन् ।
एलिना न्युयोर्कस्थित अपस्टेट मेडिकल युनिभर्सिटीको क्यान्सर सेन्टरमा काम गर्छिन् । उनी सो संस्थासँग जोडिनुअघि नै विकलले घरजग्गा खरिद गरेकाले त्यसका लागि नेपालबाटै पैसा लगिएको हुन सक्ने अख्तियारको आशंका छ । सन् २०२१ जनवरी ६ मा अमेरिकाको एलपिआर पाएका विकलले त्यसको नौ महिनापछि सेप्टेम्बर २८ मा करिब ७ करोड रूपैयाँमा घरजग्गा खरिद गरेका थिए । सुरक्षण मुद्रण केन्द्रको खरिदमा अख्तियारको छानबिनमा रहेका विकललाई तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दोस्रो पटक केन्द्रको कार्यकारीमा नियुक्ति गरेका थिए । तत्कालीन सञ्चारमन्त्री कार्की र सञ्चार सचिव डा. बैकुण्ठप्रसाद अर्यालले नै उनलाई नियुक्ति दिएका थिए ।
सेक्युरिटी प्रिन्टिङमा ६९ करोड ८ लाख रूपैयाँ भ्रष्टाचारको अभियोग लागेका विकललाई दुई वर्षअघि कार्यकारी निर्देशकको पुनः नियुक्ति दिलाउन मापदण्ड संशोधन गरिएको थियो । सो मापदण्ड संशोधनका लागि तत्कालीन सञ्चार सचिव अर्यालले सघाएको र कार्यविधि संशोधन तथा पुनर्नियुक्तिको आसपास उनीहरूबीच संवाद र लेनदेन भएको समाचार प्रकाशित भइसकेको छ । विकलविरुद्ध नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गरिहेका बेला डा। अर्यालले रकम लिएको समाचार आएको हो ।
आयोगको हिरासतमा रहेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलले सिंगापुरमा रकम जम्मा गरेको खुलेको थियो । पौडेलद्वयको रकम सिंगापुरस्थित ब्यानकोटेक नामको कम्पनीले जम्मा गरेको प्रमाण फेला परेको थियो । सुनिलको ३८०–९४८३१०८ नम्बरको खातामा २०२२ जनवरी २ मा ५८ हजार अमेरिकी डलर जम्मा भएको थियो । त्यो रकम सिंगापुरकै ब्यानकोटेक नामक कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै उनको खातामा जम्मा गरेको पाइएको छ ।
त्यस्तै २०२१ डिसेम्बर ६ मा अमेरिकाको इन्स्टासेफ नामक कम्पनीले बैंक अफ अमेरिका हुँदै उनको खातामा ७७ हजार ५४५ अमेरिकी डलर जम्मा गरेको देखिएको छ । २०२१ अगस्ट २ मा अमेरिकाको इन्स्टासेफबाटै २४ हजार ९९५ र २०२१ अगस्ट २५ मा ४७ हजार ७४५ डलर जम्मा भएको छ । त्यसैगरी अमेरिकाको इन्स्टासेफबाट ३८०–९४७२०८४ नम्बरको खातामा २०२१ अगस्ट २ मा विकलको २४ हजार ९९५ डलर जम्मा भएको देखिएको थियो। २०२१ मार्च २४ ब्यानकोटेकले उनको खातामा रेमिट्यान्सका रूपमा ५० हजार अमेरिकी डलर जम्मा गरेको स्रोतले जनाएको छ ।