काठमाडौंको सुन्धारामा फूटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।
सो झडपमा परी दुवैपक्षबाट दर्जन बढी जना घाइते भएको बताइएको छ । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ । शहरमा फूटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फूटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीलाई हटाएको थियो ।
धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 'बाटोमा फुटपाथ राख्न पाइँदैन भनेर नगर प्रहरी हटाउन गएको थियो,' उनले भने, 'तर उहाँहरूले अटेर गर्नुभयो। सोही क्रममा झडप हुँदा नगर प्रहरीसमेत घाइते भएका छन्।'
यता फुटपाथ व्यवसायीहरुले भने प्रहरीको टोलीले आफूहसँग धरपकड गरेको बताएका छन्। नगर प्रहरीको ठूलो टोली आए जबर्जस्ती गरेपछि प्रतिकारमा उत्रिँदा लाठिचार्ज गरि घाइते भएको उनीहरुको दावी छ ।