त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रन बनाएको हो ।
नामिबियाका लागि जान निकोल लोफ्टी इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक १०१ को योगदान दिए । इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औं एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।
त्यस्तै मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिंगेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे । नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए । करण केसी र अविनाश बोहराले समान १–१ विकेट लिए ।