Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अस्पतालबाट शिशु चोरेकी मनिषाले प्रहरीलाई बयानमा के भनिन्?

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनकी शिशु चोरी गरेकी २४ वर्षीया मनिषा भनिने मनकुमारी सिंहले आफूले बेहोसीमा शिशु चोरी गरेको बयान दिएकी छन् । प्रहरी वृत्त सिंहदरबारको थुनामा रहेकी मनिषाले अस्पताल पुगेपछि आफ्नो होस् गुमेको हुँदा बच्चा बोकेर हिँडेको प्रहरीलाई बताएकी छन् । प्रहरीको सोधपुछमा उनले भेनेकी छिन्, ‘अर्काको बच्चा बोकेर कसरी घर पुगें । किन गएँ, केही थाहा नै छैन? मैले बेहोसीमा पुगेर यस्तो गरें ।’

प्रहरीले बच्चा चोरी भएको १२ घण्टापछि सकुशल उद्धार गर्दै उनलाई पक्राउ गरेको थियो । मनिषाले शुक्रबार काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपलिका–३ घर भई कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठकी शिशु चोरेकी थिइन् । सोही त्यही राति काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट शिशुलाई उद्धार गरेको थियो भने उनलाई पक्राउ गरेको हो ।

अस्पतालदेखि मनिषा बस्दै आएको काँडाघारीसम्मका सीसी क्यामेराका फुटेज अध्ययनपछि शिशुको उद्धार गर्न सफल भएको जानकारी काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री जानकारी दिएका छन् । प्रहरी पुग्दा मनिषा सुत्केरीको बहना बनाएर घरमा बसेकी थिइन् । उनीबाहेक कोठामा उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाही थिए ।

प्रहरीले उनीहरूलाई समेत नियन्त्रणमा लिएको थियो । तर, बच्चा चोरीको घटनामा उनीहरूको संलग्नता नदेखिएपछि प्रहरीले नरेन्द्र र शारदालाई शनिबार साँझ छाडिसकेको छ । शनिबार रक्तश्राव भएको बताएपछि प्रहरीले जाँच गर्न सिनामंगल अस्पताल पुर्‍याएको थियो । अस्पतालबाट साँझ नै पुनः थुनामा राखेको छ । पीडितले अपहरण तथा शरीर बन्धक मुद्दामा उजुरी दिएपछि मनिषाविरूद्ध आइतबारदेखि अनुसन्धान थालेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल चेकअपका लागि आउँदा मनिषा र उनका श्रीमान् नरेन्द्र सँगै आएका थिए । तर, मनिषाले अस्पतालको वार्डबाट आफ्नै श्रीमानले समेत नदेख्ने गरी उनले सबिनाको २६ दिनको शिशु बोकी भागेकी थिइन् ।

घर पुगेपछि बाटोमा बच्चा जन्माएको भन्दै श्रीमानलाई फोन गरेकी थिइन् । श्रीमान बाहेक अन्य नातेदारलाई समेत आफूले बच्चा पाएको जानकारी गराएकी थिइन् । शुक्रबार प्रहरी नपुग्दासम्म मनिषाले बच्चा पाएको भन्दै शिशुको मुख हेर्न आफन्तहरूसमेत उनको कोठासम्म पुगेका थिए । मनिषाले दुई वर्षअघि मात्रै नरेन्द्र मल्लसँग प्रेम विवाह गरेकी थिइन् । नरेन्द्र नेपाली सेनामा कार्यरत छन् । विवाहलगत्तैबाट बच्चाको योजना बनाएका थिए । बच्चा नभएपछि मानसिक तनावमा समेत पुगेको आशंका गरिएको छ ।