Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

डलर देखाइ लुट्ने धन्दामा परिवारैः मनि एक्सचेन्ज सञ्चालकसहित तीन जना पक्राउ

डलर देखाई ठगी गर्ने मनी एक्सचेन्जका सञ्चालक, श्रीमान र श्रीमती पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज आइतबार पत्रकार सम्मेलन गरी डलर देखाई ठगी गर्ने गिरोहमा संलग्न फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक शंकर रेग्मीसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रौतहट चन्द्रपुर नगरपालिका–७ घर भई हाल काठमाडौं महानगर–२६ गल्कुपाखा बस्ने ३७ वर्षीय रेग्मी, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– ५ घर भई हाल गोकर्णेश्वर नगरपालिका ४ बस्ने ६० वर्षीय रामबहादुर तामाङ र उनकी ५१ वर्षीया श्रीमती बिबि तामाङलाई पक्राउ गरेको हो । प्रहरीले दम्पत्तीको साथबाट ७१ हजार नेपाली रुपैयाँ र ६०७ अमेरिकी डलर बरामद गरेको छ । त्यस्तै फरेन मनी एक्सचेन्ज सेन्टरका रेग्मीको साथबाट ३ लाख ६५ सय र ५८३ अमेरिकी डलर बरामद गरेको जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौं भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपैयाँ ठगी गर्ने कार्यमा मुख्य योजनाकार तामाङसहित तीन जनालाई शनिबार साँझ पक्राउ गरेको कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । डलर साट्न उनले विभिन्न होटलका सञ्चालकलाई सस्तो दरमा उपलब्ध गराउने भनेर प्रलोभन देखाउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।