Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

न्यायाधीश नवराज थपलिया र अम्बिकाप्रसाद निरौला बर्खास्त

घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई सरुवा

न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आज बसेको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको हो। परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ । 

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विचौलियाको रूपमा काम गरेको आरोप लागेको छ । जबरासँग निकट रहेका थपलियामाथि झगडियासँग भेटघाट गरी रकम लिएर उनीहरूकै पक्षमा मुद्दामा फैसला गराएको आरोपसमेत लागेको थियो ।

न्याय परिषद्‌मा परेको उजुरीमा थपलियाले झगडियासँग रकमको मुलाहिजा गरेको र फैसला प्रभावित बनाएको आरोप थियो । उजुरीसँगै आएका अडियो र कल डिटेल्सका आधारमा उजुरीको छानबिन गर्दा गम्भीर कैफियत देखिएपछि परिषद्ले न्यायाधीश थपलियामाथि विस्तृत छानबिन गर्न न्यायाधीश आनन्दमोहन भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो । 

जिल्ला अदालत काठमाडौंमा कार्यरत अर्का न्यायाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए । भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि गम्भीर न्यायिक विचलनको आरोप लागेको थियो । व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ ।