रुस जान ११ लाख ऋण लिएका थिए, पाएको एक महिनाको तलव पनि घर पठाउन पाएनन्
रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनी सेनाको आक्रमणमा परी मारिएका छन् । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।
तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ती भएका पुनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्याएपछि मृत्यु भएको पुष्टि भएको हो । उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्त समेत पर्ने दाङ घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।
मृत्युअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्न समेत बताएका थिए । घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताए । ‘बाहिर गएर कमाइ गर्ने योजनामा भएको जानकारी थियो, तर एकै पटक रुस पुगेर मृत्यु भएको खबर सुन्दा हामी दुःखी भएका छौं,’ उनले भने । आर्थिक समस्यामा परेकाले कमाइ गर्न बाहिर देश जान खोजेको तर त्यहाँ पुग्न पनि पैसा नभएको उनले बताउने गरेको डम्बरको भनाइ छ ।
घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋण समेत लिएका थिए । परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । रुस पुग्नुअघि उनी दुई वर्ष कतार बसेका थिए । चाहे जस्तो कमाइ नभएपछि फर्केर दाङमा मोबाइल पसल चलाएका थिए । त्यसअघि उनले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए । सानैमा बुबा आमा गुमाएका उनका कान्छा भाइ कमल वैदेशिक रोजगारीमा खाडीमा छन् भने दुई छोरी र एउटा छोरा पढाउन श्रीमती दाङमा छिन् ।
घटनापछि घर र गाउँ नै शोकमा डुबेको त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले बताए । उनले गैरकानुनी तरिकाले रसिया पुगेका वडाका दुई युवा भने फिर्ता आइसकेको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाबाट रुस वा अन्य गैरकानुनी तरिकाले विदेश पुगेकोहरूको तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले गैरकानुनी तरिकाले कानुनले जान नदिएको मुलकमा पुगेर अफ्ठेरो व्यहोर्नुभन्दा पहिले नै नजान आग्रह गर्नुपर्ने बताए । हालसम्म रुसी सेनामा भर्ती भएका १६ नेपाली युवाले ज्यान गुमाएका छन् भने ११६ जना घाइते भएका छन् । रुसी सेनामा ५३१ जना नेपाली युवा रहेको पाइएको छ ।
रुसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले हिजो (शनिबार) उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारिएको जानकारी गराइन् । रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण संकलन गर्न थालिएको उनले बताएकी छन् । ‘रुसी सेनामा गएका युवाका परिवारसँग सम्पर्क गरी विवरण संकलन गरिरहेका छौं’, उनले भनिन् ।
अहिलेसम्म पीडित परिवारले दिएको विवरणअनुसार, रुसी सेनामा भर्ती भएका १६ जनाको ज्यान गइसकेको छ । जसमा दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराम मोक्तान, कपिलवस्तुका रुपक कार्की, गोरखाका सन्दीप थपलिया, दार्चुलाका कुन्दनसिंह नगाल, स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, बाँकेका संजय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्ता र दाङका जितबहादुर पुनको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा मृतकका परिवारजन पनि उपस्थित थिए । रुसी सेनामा भर्ती भएका ११६ जनाको उनीहरूका परिवारजनले विवरण टिपाएको भण्डारीले जानकारी दिइन् । रुसी सेनामा भर्ती भएका २७२ जना सम्पर्कविहीन छन् । उनीहरूका परिवारजनले खोजीका लागि पहल गरिदिन विवरण टिपाएको उनले बताइन् ।
सम्पर्कमा आएका ५३१ जनामध्ये १२७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजार बढी युवाका परिवार आफ्नो सम्पर्कमा आएको भण्डारीले बताएकी छन् । उनीहरू फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको भए पनि परिचय सार्वजनिक गर्न खोजेका छैनन् । रुसी सेनाबाट फर्केका युवाको भनाइमा यो संख्या धेरै हुनसक्ने भण्डारीले बताएकी छन् ।