Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

मेलम्ची बजारका अनधिकृत संरचनामा चल्यो डोजर

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका–११ स्थित सडकपेटी मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर चलाएको हो ।

नगरप्रमुख आइतमान तामाङले बिहान सडकपेटी मिचेर बनाइएका भर्‍याङ, छानो, होर्डिङबोर्ड लगायतका संरचना हटाइएको जानकारी दिए । ३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि नहटाइएपछि नगरपालिकाले डोजर लगाएर हटाएको उनले बताए ।

dojar-melamchi-1.webp

मेलम्ची बजारमा सय भन्दा बढी घरहरूले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि नगरपालिकाले ती संरचना भत्काउँदै आएको थियो । ‘केहीले यसअघि आफैं भत्काए, केही नगरपालिकाले भत्कायो । बाँकी रहेका घरहरूले अटेरी गरेपछि हामीले डोजर चलाएका हौं,’ नगर प्रमुख तामाङले भने ।