Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल सञ्चालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

मधेसको विकास नभइकन देशको विकास हुन्न: प्रधानमन्त्री प्रचण्ड

सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ ।

सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी  निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ ।

Photo (3).jpg

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो ।

पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ ।    

भिडियो:

मधेसको विकास नभइकन देशको विकास हुन्न: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास नभइकन देशको विकास नहुने बताएका छन् ।  सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्दै आफू मधेसको विकासकाम लागि आफू निरन्तर लागिपर्ने  बताएका हुन् ।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए ।

उनले भने, ‘अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’ प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने प्रचण्डको विश्वास थियो ।

Photo (2).jpg

नेपालको भूगोलअनुसार झोलुंगे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको उल्लेख गरे ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ  एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।