Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

शिशु चोरीको आरोपमा काँडाघारीबाट तीनजना पक्राउ, पक्राउ परेकी मनीषा भन्छिन्- 'जंगलमा भेटेकी हुँ'

थापाथलीस्थित प्रसूति गृहबाट २६ दिनको शिशु चोरीको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडांँको काँडाघारीमा बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुईजना रहेका प्रहरीले जनाएको छ ।

थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी दैलेखकी मनीषा भनिने मनकुमारी सिंहले बच्चा आफूले जंगलमा भेटेको प्रहरीसँग बयानमा बताएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेकी थिइन् । अनुसन्धान अधिकृतहरूसँग उनले बयानमा भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’ चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारी सिंहलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो । मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । तर, चोरीमा श्रीमानको भूमिका नदेखिएको उनको भनाइ छ ।

बच्चा चोरीमा संलग्न रहेको आरोपमा मनकुमारी र अर्की एकजना महिला पनि पक्राउ परेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । मनकुमारीले तीनपटकसम्म बच्चा खेर गरेको प्रहरीसँग बताएकी छन् । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘विवाह गरेको लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’

शुक्रबार राति करिब १२ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुको उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले शिशु्को चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएपछि प्रहरीले खोजी थालेको थियो । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

बच्चा चोरी भएको थाहा हुनेवित्तिकै सविनाले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । सीसीटिभी फुटेजको आधारमा बच्चाको उद्दार गरी मनकुमारीलाई नियन्त्रणमा लिएको हो ।