Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय शृंखला क्यानडा–११ लाई, निर्णायक खेलमा चार विकेटले जित्यो

तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’ विरुद्ध चार विकेटको जित निकाल्दै क्यानडा–११ ले एकदिवसीय शृंखला २–१ ले जितेको छ । मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले दिएको १८२ रनको लक्ष्य ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै क्यानडा–११ ले शृंखला जितेको हो । 

तीन खेलको शृंखलामा यसअघि दुवै टिमले समान एक खेल जितेका थिए । बिहीबार क्यानडालाई जित दिलाउन निकोलस किर्टोनले ५८ रन बनाए । उनले ७९ बलमा ६ चौका प्रहार गरे । ओपनर आरोन जोन्सनले ४२ रन थपे । यस्तै, नवनित धलिवालले ३८, निखिल दत्तले १४, दिलप्रित बाज्वाले ११ र श्रीमन्था विजेरत्नेले १० रन बनाए । 

नेपालका साहब आलमले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । १० ओभर बलिङ गरेका आलमले ३५ रन खर्चिए । शेर मल्ल र बसिर अहेमदले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनर आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए । यसअघि दोस्रो खेलका ओपनर मयन यादवको स्थानमा आज मौका पाएका आशुतोषले ४३ बलमा पाँच चौका प्रहार गरे । आशुतोषले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अर्जुनले ५३ बलमा दुई चौकासहित २७ रन थपे । यसबाहेक, बसिर अहमेदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २४ र प्रतिश जिसीले १९ रन जोडे । क्यानडाका डिलोन हाइलिजर, हर्ष थाकेर र निकोलस किर्टोनले समान दुई विकेट लिए । 

कलिम साना र कप्तान साद बिन जफरले एक–एक विकेट हात पारे । यसअघि शृंखलाको पहिलो खेल क्यानडा चार विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेलेको यो पहिलो शृंखला हो ।