Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चलचित्र गोर्खा वारियर हेरेपछि मन्त्री र पूर्वप्रधानमन्त्रीले के भने? (भिडियो)

बुधबार बेलुकी काठमाडौंको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शन (प्रिमियर)  सम्पन्न भएको छ।

प्रदर्शनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीले चलचित्र हेरे।

चलचित्र गोर्खा वारियर हेरेपछि मन्त्री र पूर्वप्रधानमन्त्रीले के भने? 

 
अध्यक्ष ओलीले चलचित्र हेरेपछि नेपाली विषयलाई समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए। “यसले नेपाली कथा र विषयलाई समेटेको छ। चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ। यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए। उनले भने, “मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो। त्यसैले पनि यो चलचित्र हेर्दा मैले कथासँग जोडिएको पाएँ। यो चलचित्रलाई हरेक नेपाली हेर्नुपर्छ। हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौं।”

Sequence 01.02_01_38_28.Still794.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेनले चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताए। “हामो देश नेपाललाई सगरमाथा झैं गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको संख्या निकै कम हुनु भने दुःखद हो। यस्ता चलचित्रलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ”, अध्यक्ष लिङदेनले भने।

प्रिमियरमा उपस्थित सांसद ज्ञानेन्द्र शाही, अभिनेता हरिवंश आचार्य, सरोज खनाल, किरण केसी, गजित विष्ट, अभिनेत्री प्रियंका कार्की, पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गरे।

Sequence 01.02_01_27_01.Still792.jpg

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको निर्देशक तथा लेखक मिलन चाम्सले बताए।

“मैले यस चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु। सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन। यसका लागि मैले छायांकनमा तीन वर्षको समय खर्चेको छु। तयारी त एक दशकअगाडि देखिकै हो”, निर्देशक चाम्सले भने, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न संग्रहालयबाट ल्याएर प्रयोग गरेका छौं। यो चलचित्रले हाम्रो वीरतालाई देखाउनाका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ।”

फागुन ११ गते शुक्रबारदेखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ। यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैं पूर्वगोर्खा सैनिक हुन्। उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए।

Sequence 01.02_01_31_13.Still795.jpg

“मैले युद्धका क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु। चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु। पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भने।

चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।