हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले एक करोड चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थल बाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको रहेका उनलाई राजश्व अनुसन्धान विभागले हुण्डी कारोबारीमा मात्र मद्दा दायर गरेपछि जिल्ला अदालतले मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई हुण्डी कारोबारमा मात्रै मुद्दा चलाइएको थियो । उनी माघ ३ गते राति क्षेत्रपाटीबाट पक्राउ परेका थिए । त्यसक्रममा उनको घरबाट सुन जोख्ने मेशिन बरामद भएको थियो । उक्त मेशिन र कारोबारका क्रममा भएको ‘कल डिटेल’ मा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा सुन तस्करीका दुवै प्रकरणमा रकम भुक्तानीमा उनको संलग्नता देखिए पनि हुण्डीमा मात्रै मुद्दा चलाइएको स्रोतले जानकारी दिएको छ । अदालतले धरौटी खुलाएपनि धरौटी दिन नसकेपछि उनलाई कारागार चलान गरिएको छ । विभागले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न पत्राचार गरेको छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको सहयोगमा राजस्व अनुसन्धान विभागले अग्रवाललाई पक्रेको थियो । विभागको टोलीले त्यतिबेला उनको घरबाट २ करोड नेपाली रुपैयाँसहित २ हजार अमेरिकी डलर र अन्य देशका मुद्रा पनि बरामद गरेको थियो । त्यसक्रममै उनको घरबाट सुन जोख्ने मेशिन पनि बरामद भएको थियो । विभागको अनुसन्धानको दायरामा आएपछि सुन तस्करी प्रकरणहरूमा रकम भुक्तानी गर्ने कार्यमा उनको संलग्नता देखिएको हो ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अग्रवालले एक दिनमै करोडौं रुपैयाँ कारोबार गरेको पाइएको छ । स्रोतका अनुसार रकम पठाउन क्रिप्टो करेन्सी कारोबार गरेको हुन सक्ने देखिएको थियो । अग्रवालले कहाँबाट कति सुन आएको भन्ने जानकारी पनि राख्ने गरेका थिए । ‘सुनको रकम भुक्तानी सुरक्षित रूपमा हुन्डीमार्फत नै हुने भएकाले अग्रवालले नेपालको प्रशासनिक र सुरक्षा निकायमा समेत राम्रो प्रभाव राखेको देखिन्छ । सुन तस्करले उनीमार्फत कारोबार गरेको पाइयो,’ विभाग स्रोतले भन्यो । अग्रवालका बारेमा विभागले यसअघि नै जानकारी पाइसकेको थियो तर प्रमाण अभावले उनी जोगिँदै आएका थिए ।