Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ठेकेदारको लापरवाहीले रारा पर्यटन पदमार्ग अलपत्र

मुगु । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालसम्म पुग्ने निर्माणाधीन ‘रारा पर्यटन पदमार्ग’ अलपत्र परेको छ । ठेकेदारको लापरबाहीका कारण ६ महिना यता उक्त पदमार्गको काम अलपत्र परेको हो  ।

डिभिजन वन कार्यालय मुगुका अनुसार पदमार्ग निर्माणका लागि संघीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत ४६ करोडको विनियोजित बजेटबाट ४५ करोड २९ लाख १० हजार ७९ रुपैयाँमा खानी थोदुुङ क्याराभानले २०७९ असारमा निर्माणको जिम्मा  पाएको थियो ।

कार्यालय प्रमुख अम्मर शाहले निर्माण कम्पनीले काम अगाडि बढाउन भनी  २०७९ असार २५ गते आठ करोड पेस्की समेत लिएको जानकारी दिए । पर्यटन प्रवद्र्धनका हिसाबले कर्णाली प्रदेशकै गौरवको आयोजनको रुपमा लिएको उक्त पदमार्ग निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीका कारण काम अलपत्र परेको हो ।

Photos (4).JPG

४५ करोड २९ लाख १० हजार ४ सय ७९ रुपैयाँ ६५ पैसामा निर्माणको जिम्मा लिएको खानी थोदुङ्ग क्याराभान जेभी प्रालीसँग आर्थिक बर्ष ०७८/०८९ मा सम्झौता भएको थियो । सोही आर्थिक बर्षबाट काम थालनी गरी ०८३ मा आयोजना सम्पन्न गर्नुपर्ने भएपनी हालसम्म पदमार्गको ६.९ किलो मिटर ढुङ्गा बिच्छाउने काम मात्र भएको छ ।

सम्झौता अनुसार १४ किलो मिटर लम्बाई रहेको पदर्मागमा ढुङ्गा १५ सेन्टिमिटर उचाईमा सिमेन्ट १० सेन्टीमिटर पीपीसी र  दैलेखको खानी ढुङ्गाका सेलेटहरु बिच्छाउनु पर्नेछ । 
प्रमुख शाहका अनुसार डिभिजन वन कार्यालयबाट आठ करोड पेश्की लिएको एक बर्षसम्म ठेकेदारले काम नगरेको स्थानीयको भनाइ छ ।

पेश्की अनुसार प्रक्रिया अगाडि नबढाएपछि डिभिजन वन कार्यालय मुगुले खानी थोदुङ्ग क्याराभान जेभी प्रालीको जमानत बसेको प्राईम क्रमसियल बैंकलाई क्षतिपूर्तीसहित पेश्की रकम फिर्ता गर्न पत्रचार गरेपछि ठेकेदार कम्पनीले काम गर्ने अवधी पाँच बर्ष भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।  

Photos (1).JPG

उच्च अदातलतले उक्त रिट खारेज गरी डिभिजन वन कार्यालय मुगुको पक्षमा फैसला गरेपछि बल्ल पछिल्ला केही महिना यता केही काम भएको बताए । ठेकेदारले लिएको आठ करोडमध्ये चार करोड २५ लाख बराबरको मात्र काम भएको जनाइएको छ ।

अहिले निर्माण भएको ६.९ किलो मिटर ढुंगा विच्छ्याइएको मध्ये १ हजार ५ सय ५२.५ घन मिटर ढुङ्गाहरु ठेकेदारले २ सय २० मिटर पुनः मर्मत गर्नुपर्ने डिभिजन वन कार्यालय मुगुका ईन्जिनियर धनसिंह रोकायले बताए । उक्त पदमार्गमा बिच्छाउने ढुङ्गा भ्याटसहित प्रति घनमिटर २५ हजारमा निकुञ्ज क्षेत्र बाहिरबाट ढुवानी गरेर पद मार्गमा प्रयोग गर्न डीपीआरमा उल्लेख भई वन कार्यालयमा सम्झौता भएको छ ।

जिल्लाका चारै स्थानीय तहहरुमा जिल्ला दररेट भ्याटसहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैया लागु गरिएको भएपनी उक्त आयोजनको डीपीआरमा ढुङ्गाको मुल्य बढी राखी निकुञ्ज भित्रकै आयोजना निर्माण हुने स्थल नजिकै डिपीआर विपरित स्थानबाट ढुङ्गा प्रयोग गरिएको पाईएको छ ।

कर्णाली प्रदेशकै पर्यटन क्षेत्रको गौरवको योजना भएको र निर्माण कार्यमा ठेकेदार पक्षले ढिलाई गरेको भन्दै कर्णाली प्रदेश उद्योग, पर्यटन बन तथा बातावरणमन्त्री कृष्णकुमार बिसी र मन्त्रालयका सचिब समेत निर्माण स्थलमा पुगेर अवलोकन गरेका थिए । तर काम अघि नबढेको बताइन्छ । ठेकेदार पक्षलाई कर्णाली प्रदेश सरकार, सम्बन्धित मन्त्रालय, वन डिभिजन कार्यालयलगायत सबै सरोकार निकायको ध्यान गएपनि ठेक्केदारले काम नगर्ने र लापरवाही गर्ने गरेको पाइएको छ ।

Photos (5).JPG

आयोजनाको सुरुवातदेखि नै केही पूर्वकर्मचारी र मन्त्रीहरुको सेटिङ्गबाट आयोजना सन्चालन भएको अनुमान गरिन्छ । विशेषगरी मूख्य ठेक्कादार आयोजना स्थलमा नआउने, तल्लो तहका व्यक्तिहरुलाई कामको जिम्मेवारी दिने गरेको तर रकम मूख्य ठेक्कादारले लिने गरेकाले काम अलपत्र परेको मुगु जिल्ला क्षेत्र नम्बर १(ख)का संसद कर्णाली प्रदेश सभा सदस्य जीतबहादुर मल्लले बताए ।

पदमार्ग निर्माण सम्पन्न भएपछि साइकल मार्गमा परिणत गर्ने उदेश्य डीपीआरमा भएपनी चौडाईका बिषयमा कमजोरी देखिएको सरकोरवाला बताउने गरेका छन् । पदमार्गकोे डीपीआर डिभिजन वन कार्यालय मुगुबाट नभई उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रालय सुर्खेतमार्फत कन्सल्टेन्सीले तयार पारेको थियो ।

जिल्लाका चारवटै स्थानीय तहहरुमा जिल्ला दररेट भ्याटसहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैयाँ लागु गरिएको भएपनी उक्त आयोजनको डीपीआरमा ढुङ्गाको मुल्य बढी राखी निकुञ्ज भित्रकै ढुङ्गा प्रयोग गरिएको पाइएको छ ।

Photos (2).JPG

ठेक्कादारले कामदारलाई प्रति घन मिटरको ३५ सयका दरले काम दिएपछि ६ सय मिटर १ सय ३५ घन मिटर काम गरेको ३ हजार ५ सयका दरले हुन आउने ३३ लाख ७५ हजार भन्दा बढी रकम नदिएको गुनासो छ । तेल चामल पाएको तर १५ जनाले ६५÷६५ दिन काम गरेको पारिश्रमिक नपाएको पिटी ठेक्केदार जसिमल भियालले बताए ।