Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनुमति भन्दा बढी काठ काटेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना वन अधिकृतसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ ।

अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जीसी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । ८ सयवटा रुख काट्ने क्रममा करिव १९ हजार क्यूफिटको बन पैदावस कम संकलन भएको अख्तियारले उल्लेख गरेको छ ।