Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जग्गा ‘लिज’ मा लिएको भाडा नतिरेको आरोपमा रास्वपा कोशीका महामन्त्री निलम्बित

सुनसरीको इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा ‘लिज’ मा लिएर भाडा नतिरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका महामन्त्री लालविक्रम थापालाई निलम्बित गरिएको छ ।

इटहरी उपमहानगरपालिका–९ मा करिब २ कठ्ठा जग्गा भाडामा लिनेक्रममा थापाले सनमुन प्लाजाको नाममा विद्यालयसँग सम्झौता गरेका थिए । प्लाजा र विद्यालयबीच भएको सम्झौताअनुसारको भाडा हालसम्म नबुझाएको तथ्य बाहिरिएपछि थापालाई निलम्बन गरिएको रास्वपा कोशी प्रदेश प्रवक्ता, कमलबाबु मैनालीले जानकारी दिए ।

‘तत्कालको लागि छानबिनका लागि उहाँलाई जिम्मेवारीबाट हटाइएको हो,’ मैनालीले भने, ‘छानबिन सकिएपछि के निष्कर्ष आउँछ, सोहीअनुसार निर्णय सार्वजनिक गर्नेछौँ ।’ आफूहरूले यसअघि विद्यालयसँग जानकारीका लिदाँ विद्यालयले पाँच वर्षको भाडा असुल गर्न बाँकी रहेको लिखित पत्र काटेसँगै थापालाई स्पष्टीकरण सोधिएको थियो । तर, थापाले चित्तबुझ्दो जवाफ नपठाएको र सामाजिक सञ्जालमा लाइभ बसेर जथाभावी आरोप, प्रत्यारोप गरेकाले तत्काललाई जिम्मेवारीबाट हटाइएको मैनालीले बताए ।

‘उहाँले सामाजिक सञ्जालमा लाइभ बसेर स्कुल र पालिकालाई पनि दोषी देखाउनु भएको छ । हामीलाई पार्टी केन्द्रीय अनुशासन आयोगबाटै पत्र आएकाले जिम्मेवारीबाट हटाएका हौँ,’ उनले भने । थापाबाट रास्वपाको प्रतिनिधिस्वरूप गरिएका पार्टीसँग सम्बन्धित कुनै पनि कार्यहरूलाई आधिकारिकता प्रदान नगरिने उनले बताए ।

‘सकेसम्म आफै यो मुद्दालाई किनारा लगाउन सुझाव गर्दागर्दै संवाद प्रक्रिया नै बन्द गरी कोही प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० को भावना र मर्म विपरीत फेसबुक लाईभ गरी अनर्गल प्रस्तुति दिनुभएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण हुन गएको र पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गरिएको छ,’ मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय अनुशासन विभाग को पस ०८०/८१ चन ८० मिति २०८०-११-०७ को पत्रअनुसार कोसी प्रदेश समितिको महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआउन्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौँ ।’