Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेस उपभासपति खड्काको प्रतिवेदन: लोकरिझ्याइँमा रम्ने पार्टीको भविष्य छैन

सत्ता साझेदार नेपाली कांग्रेसले लोकरिझ्याइँमा रम्ने पार्टीको भविष्य नभएको बताएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको बन्दसत्रमा पार्टीको नीति प्रतिवेदन पेस गर्दै उपसभापति पूर्णबहादुर खड्काले लोकरिझ्याइँमा रम्ने पार्टीको भविष्य नभएको बताएका हुन् । उनले लोकरिझ्याइँ र अधिनायकवाद बढेको भन्दै दृष्टिकोण बिनाको लोकप्रियताका लागि जे पनि बोल्नु उचित नहुने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नयाँ दल र राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोक्ने दलहरूलाई उपसभापति खड्काले अधिनायकवादीको संज्ञा दिएका छन् । ‘निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्ट्याएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी हुन् । प्राप्त उपलब्धिमा उनीहरूको कुनै अपनत्व छैन । न त राष्ट्रको वृहत्तर हितको दायित्वबोध छ, न त जिम्मेवारी,’ खड्काको प्रतिवेदनमा उल्लेख छ ।

राजतन्त्र र हिन्दुराज्यको एजेण्डा बोक्नेहरूप्रति लक्षित गर्दै खड्काले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाएका छन् । ‘समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ’, प्रतिवेदनमा भनिएको छ ।

बैठकमा पेश गरेको ६५ पृष्ठ लामो नीति प्रस्तावमा भनिएको छ, ‘जब जब देशमा संकट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली कांग्रेस त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ । देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि हालसम्म सतिसालझैं उभिएको छ ।’