Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नेपालको राष्ट्रिय स्वाधिनता दुर्घटनामा पर्ने खतरा छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् । आज सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्गसंघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर फर्कने भन्ने लडाइँ कायमै रहेको बताएका हुन् ।

उनले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताए । उनले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको बताएका छन् । उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्ने हो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने होरु यो लडाईं सर्वत्र छ भनेर म तपाईंहरुलाई भन्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठीक छैन, समावेशी, समानुपातिकता ठीक छैन, शिक्षा सुधार ठीक छैन पुरानै ठाउँमा फर्किनु पर्छ भनेर लागेको दाबी गरे ।