Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

धनराजको प्रश्नः टुप्पोमा बस्नेले मात्र कहिलेसम्म फल खाइरहने?

‘क्रोनिक क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएन’

सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकबाट पारित गरिनुपर्ने बताएका छन् । आज ९सोमबार० ललितपुरको गोदावरीमा सुरु महासमिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले पदाधिकारीले गरेका गल्तीलाई महासमितिले सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीको सांगठनिक संरचना सुधार गर्ने अधिकार महासमितिले राख्ने उनले बताए । उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ । मुसाले धेरै बच्चा जन्माउँछ । हात्तीले एउटा जन्माउँछ, तर त्यही शक्तिशाली हुन्छ ।’

कांग्रेसमा फेदमा बस्नेले दुःख गर्ने, टुप्पोमा बस्नेले मात्र खाने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता उनले औँल्याए । ‘हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्नेछ । यो हुन नसक्नु भनेको भ्रष्टाचार मौलाउनु हो । जबसम्म भुइँमा भएकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन, तबसम्म केही गर्न सकिँदैन’, उनले भने ।

आर्थिक, सामाजिक, अन्तर्राष्ट्रियलगायत नीति बैठकमा प्रस्तुत गरिने उनले बताए । उनले आर्थिक नीति प्रजातन्त्र समाजवाद हुनुपर्ने र झुपडी र महलमा बस्नेलाई जोड्ने भनेको प्रजातान्त्रिक समाजवादले नै भएको जिकिर गरे । ‘कोरोनाका कारण अस्ताएको अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा अघि बढिरहेको छ । परिवर्तनले अझै ह्वात्तै फड्को मार्न सकिएको छैन । यसमा क्रोनिक क्यापिटालिजम्ले हो कि भन्ने विषयमा बहस गरिनुपर्दछ’, उनले थपे, ‘क्रोनिक क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएको छैन । यसका विरुद्धमा महासमितिले एकमत भएर उभिएर समाधान लगेर जानु पर्दछ ।’