नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
भवनको उद्घाटनपछि आइतवार कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गाउँपालिकालाई नमूना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए । जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न प्रविधिमा समेत ध्यान दिन उनले आग्रह गरेका छन् । नयाँ भवनबाट सेवा शुरू गर्दा प्रशासनिक झन्झट पनि हट्ने उनको विश्वास छ ।
भवन उद्घाटनपछि एमाले अध्यक्ष ओली कैलाली जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटनका लागि सुखड प्रस्थान गरेका छन् । प्रशासकीय भवन निर्माणका लागि गाउँपालिका र श्यामसुन्दर निर्माण सेवा काठमाडौंबीच २०७६ साउन ५ मा सम्झौता भएको थियो । ६ करोड १७ लाख २५ हजार ६ सय ११ रुपैयाँमा लागत रहेको भवनको २० असार २०८० गते निर्माण सम्पन्न भएको थियो । उद्घाटनसँगै अब गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने छ ।