Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बालकुमारी घटनाको प्रतिवेदन हात लागेपछि दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए ।

‘आज मैले प्रतिवेदन बुझ्दैछु,’ उनले भने, ‘अध्ययनपछि प्रतिवेदनका आधारमा कारबाही हुन्छ ।’ गृह मन्त्रालयमा प्रतिवेदन बुझाए पनि आफूले आइतबार बुझ्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले प्रतिपक्षी दलले नभएर सरकारले नै समिति गठन गरेको भन्दै बालकुमारी घटनाप्रति सरकारले चासो राखिरहेको बताए । पीडितका परिवाारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र रोजगारीको व्यवस्था पनि गरिएको उनले बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए । त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घटनामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।