Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआईयू) उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्रीले बहुसङ्ख्यक युवा र उनीहरूसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।

‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ । हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ’, उनले भने । उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्नेमा प्रधानमन्त्रीले आवश्यकता औँल्याए । विश्वव्यापी शक्तिहरूले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको भन्दै उनले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोतलगायतका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धान आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताए ।

‘उच्च शिक्षाको सन्तुलन विश्वव्यापीरूपमा उत्तरतिर झुकेको देखिन्छ । महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरेपनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ’, प्रचण्डको भनाइ छ ।