आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने दुई देशबीचको खेल बिहान सवा ९ बजेबाट शुरू हुनेछ ।
शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुने छन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ । २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रियाअन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो ।
नामिबियाविरुद्ध जितका साथ नेपाल लिग टुमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। ३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ। एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन्। १ खेल भने नतिजा विहिन छ।
त्रिकोणात्मक सिरिजमा यी २ सहित नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ।
सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रिया समेत रहेको लिग टु मा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन्।
नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन् ।
लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको छ । यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन् ।
यस्तो छ नेपालको खेल तालिका
नेपाल भर्सेस नामिबिया – फागुन ३
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन ५
नेपाल भर्सेस नामिबिया – फागुन ९
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन १३