Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कञ्चनपुरमा चैते धानखेतीको आकर्षण बढ्दै

पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ७० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत जागृत खनालले पछिल्लो समय चैते धानखेतीतर्फ आकर्षण बढिरहेको बताए ।

उहाँले चैते धानखेतीमा आबद्ध विकासलाई अनुदान, बीउबिजनलगायत सहुलियतका लागि आवेदन खोलिएको जानकारी दिए । “यसपाली ४० हेक्टरजतिमा चैत धान लगाउने किसानका आवेदन आएका छन्”, उनले भने, “चैते धानको क्षेत्र विस्तार र कृषकलाई सुविधा दिँदै आएका छौँ ।”

त्यसैगरी प्रधानमन्त्री कृषि आयोजनाका प्रमुख सञ्जु उपाध्याय रिमालले ५१र५२ हेक्टरमा चैते धानखेतीका लागि कृषकको आवेदन परेको जानकारी दिए । “अघिल्लो वर्ष १८ हेक्टर र गत वर्ष २४ हेक्टरमा चैते धानखेतीका लागि आवेदन परेको थियो”, प्रमुख रिमालले भने, “चालु आवमा चैते धानका लागि ५० हेक्टर स्वीकृत कार्यक्रम रहे पनि अझै कृषक आउने क्रम छ ।”

उनले चैते धानको मूल्य राम्रो पाइरहेकाले उत्पादन बढाउनमा कृषक लागिपरेको बताए । “हामीले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्नुका साथै अहिले चैते धानखेती प्राथमिकतामा छ”, उनले भने, “विषादीलगायत उत्पादन सामग्री कार्यक्रममा रहेर वितरण गर्दै आएका छौँ ।”

कञ्चनपुरमा सबैभन्दा बढी बेल्डाँडी गाउँपालिका–५ झिलमिला तथा भीमदत्त, वेदकोट र बेलौरी नगरपालिकाका केही स्थानमा चैते धानखेती हुँदै आएको छ । बाली विकास अधिकृत खनालले ७० हेक्टरमा चैते धानखेती भइरहेको बताए । विसं २०६३ देखि चैते धानखेती गर्दै आएका तेज रावतले अहिले साढे तीन बिघामा लगाउने तयारी गरिरहेको बताए । “झिलमिला गाउँमा ४० हेक्टरभन्दा बढी कृषक यो खेतीमा आबद्ध छन्”, उनले भने, “यो असारको धानखेतीभन्दा फस्टाएकाले यसतर्फ आकर्षण बढेको हो ।”

उनले धानको उत्पादन राम्रो भएकाले चैते धानखेती गर्ने किसानले समूहमा आबद्ध भएर सिँचाइ सुविधाका लागि ज्ञान केन्द्रमा आवेदन दिएको बताए । “हाम्रो यता दलदल खालको जमिनको बनावट भएकाले प्रायः धेरैले लामो समयदेखि चैते धानखेती नै गर्दै आएका छन्”, उनले भने ।