क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन जोड्यो ।
क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे । ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए । नेपालका लागि एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका धामीले चोटका कारण यू–१९ गुमाएका थिए ।
निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष ठाकेरले २९ रन जोडे । दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए । विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो । रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए । उनले ८ ओभरमा ४९ रन खर्चिए । कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १–१ विकेट लिए ।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ । फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो । लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।