Jun 03 2026

Jun 03 2026 | बुधवार, जेठ २० गते २०८३

बाँसबारी जग्गा प्रकरण

अरुण चौधरीलाई ‘दुई दिनभन्दा बढी थुनामा नराख्न’ आदेश दिने न्यायाधीश मुगु सरुवा

बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । उनको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई ल्याइएको छ ।

प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो ।

न्यायधीस आचार्यले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने उल्लेख गरेका थिए ।

२५ गतेदेखि डडेलधुरालगायत सुदूर पश्चिमका जिल्ला अदालतको अनुगमन भ्रमण सकेर सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा राजधानी फर्कन समय लाग्ने र न्याय परिषद बैठक तत्काल बस्न नसक्ने हुँदा काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गत बुधबारको विवादास्पद आदेशका निम्ति ठाउँको ठाउँ सजाय पाएको स्रोतको दाबी छ । प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वतस् प्रमाणित भएको छ ।