Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नगर विद्यालयस्तरीय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा गत माघ २१ गतेदेखि २७ गतेदेखि सम्म संचालन भएको नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव तथा संघीय सांसद प्रेम सुवालले खेल हारजित भन्दा पनि दीर्घकालिन रूपमा मित्रता हुने गरी स्वास्थ्य लाभ र अनुशासित भई खेल्नुपर्ने बताउँदै आत्मरक्षा सहित देश बचाउन स्वस्थ्य नागरिक हुन समेत खेलहरु खेल्नुपर्ने बताए।

उनले रुस युक्रेन तथा इजरायल प्यालेस्टिन युद्धमा खेलाडी बालबालिकाले अनाहकमा ज्यान गुमाउनुका साथै लाखौं बालबालिका विद्यालयको शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको बताउँदै अध्ययनका लागि हजारौं खेलाडी तथा विद्यार्थी विदेशिँदा देशलाई संकट पर्ने बताए । सोही कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैजूले टोलटोलमा संचालन भएको खेलकुद प्रतियोगितामा अग्रज पुस्ताको सामिप्यताले समाज अझ प्रगतिशील हुने बताउँदै खेलकुद प्रतियोगिताले सर्वसाधारण जनताको स्वास्थ्य सुधारसँगै देशभक्त नागरिक तयार गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनतालाई सक्रिय बनाई आयु लम्ब्याउन विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन गरेको बताउँदै निकट भविष्यमा नै अन्तर नगर महिला कब्बडी प्रतियोगिता संचालन हुने उद्घोष गरे । सोही कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी एकाइसौं शताब्दी अनुसार बहु प्रतिभाशाली स्वस्थ र देशभक्त नागरिक तयारको लागि शिक्षा र खेलकुद हातेमालो हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा युवा तथा नगर खेलकुद समिति सदस्य रामसुन्दर बासीले संचालन गरेको समापन समारोहमा भनपा १ का वडा अध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई तथा भनपा ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल लगायत बोले। गत माघ २१ देखि २७ गतेसम्म संचालन भएको विद्यालयस्तरीय नगरव्यापी खेलकुद प्रतियोगितामा भक्तपुर नगरका सामुदायिक मावि, संस्थागत तथा आधारभूत विद्यालय गरी ७९ विद्यालयबाट २२५६ जना विद्यार्थीहरूले  सहभागिता जनाएका थिए । 

दुई स्थानीय खेल कसिमला पाँय् र बाघचाल तथा टेबलटेनिस, भलिबल, फूटबल, कब्बडी, खो खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्नास्टिक, पोर्टबल मा स्वर्ण, रजत तथा दुई कास्य सहित ८८३ वटा मेडलको लागि प्रतिस्पर्धा भएको उक्त खेलकुद प्रतियोगितामा ५६ वटा विद्यालयले मेडल पाउन सफल भएका थिए ।