बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।