Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

लहानका किसानले फलाए रङ्गीन काउली, हेर्नेहरुको घुइँचो

सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेकोे गुलाबी र पहेंलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

उनले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’ उनले एक किलोसम्मको काउली फलाएका छन् । ‘यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउन साथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ’, किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’

उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए । खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । ‘सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो’, प्रधानाध्यापक कुशेश्वर यादवले भने ।