Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा तोरीको तेल पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको छ । उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुने भएको छ । बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्राण्डिङ गरेर बजारमा ल्याई बिक्रीवितरण गर्ने उद्देश्य राखेको सहकारीका अध्यक्ष सीता चौधरीले बताइन् ।

‘दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग रु ३४ छ ।’

सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए ।

स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताए । ‘विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे’, उनले भने, ‘व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

नगर प्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलो पटक सञ्चालनमा आएको बताए । ‘उद्योग खुलेपछि रोजगारीका अवसर सिर्जना हुन्छन्’, उनले भने, ‘किसानको तोरी बिक्री हुन्छ, मिसावट भएको तेलको प्रयोगमा कमी आउँछ ।’ उद्योग सञ्चालक सहकारीसँग बजारभाउभन्दा बढी मूल्यमा किसानको तोरी खरिद गर्ने सहमति भएको उनले उल्लेख गरे ।

किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए ।

नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उहाँको भनाइ छ । यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । रासस