Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पूर्वराजालाई माधव नेपालको सुझावः चुनाव जितेर प्रधानमन्त्री बन्नुस्

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

आज शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्नु ।’


उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताउँदै राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको आरोप लगाए । राजतन्त्रले लुम्बिनी विकास कोष, पशुपति विकास कोष, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको उनको आरोप थियो ।

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको जनाए । अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको उनको भनाइ थियो ।

‘हामी हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छौं । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनु पर्छ । खोजी गर्नुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ’ उनले भने । अध्यक्ष नेपालले विश्वविद्यालयहरूमा विद्यार्थीहरू कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे ।