Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् ।

घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र लोग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीव, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका हुन् । 'विपन्न गरीवलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको छु,' उनले भने, 'झगरीवका दुःख समाजका सबैले बुझेर एकअर्कालाई पारिस्परिक सहयोगको भावना समाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेको हुँ ।'