Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भाइ पक्राउ परेपछि कांग्रेस बैठकमा आक्रोशित हुँदै विनोद चौधरीले भने, ‘सरकारले आतंक मच्चायो’

देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुरुपका मुख्य व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्योगी–व्यावसायीप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठमा उनी सरकारमाथि आक्रोशित रुपमा प्रस्तुत भए ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सांसद चौधरीले शुक्रबार पार्टी संसदीय दलको बैठकमा असन्तुष्टि जनाएका हुन् । उक्त जग्गा प्रक्रिया मिलाएर नियमसम्मत किनबेच गरेको दाबी गर्दै चौधरीले भने, ‘सरकारले प्रतिशोधपूर्ण व्यवहार ग¥यो, प्रक्रिया मिलाएर नियमसम्मत किनबेच भएको हो ।’ जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले लिएको भन्दै नेपाल प्रहरीको सीआईबीले बिहीबार अरुण चौधरी, अजितमानसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको छ ।


यो विषयलाई सांसद चौधरीले शुक्रबार कांग्रेस बैठकमा प्रवेश गराएका हुन् । तर, उनको यो भनाइमा कांग्रेसका अन्य सांसदले साथ नदिएको बताइएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा पनि यो विषयमा मौन रहे । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अरुण चौधरी पक्राउबारे विनोद चौधरीले बैठकको ध्यानाकर्षण गराएको बताए । तर संसदीय दलले यो विषयमा कुनै धारणा नबनाएको उनले जानकारी दिए ।