भाइ पक्राउ परेसँगै उद्योगी सांसद विनोद चौधरी पनि अनुसन्धानमा ‘तानिंदै’
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध कीर्ते र ठगीको कसुरमा अनुसन्धान सुरु गरिएको छ । आज (बिहीबार) केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी जग्गा हडेको आरोपमा उद्योगपछि विनोद चौधरीका भाइ अरुण चौधरी र बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि लिखतसम्बन्धी कसुर अन्तर्गतको कीर्ते र ठगीमा अनुसन्धान अघि बढाइने सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । उनीहरुलाई अदालत उपस्थित गराएर म्याद थप गरिने र विस्तृत अनुसन्धान गर्ने सीआईबीले जनाएको छ । सीआईबीले बिहीबार चौधरीलाई लैनचौरस्थित उनकै निवासबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई अहिले सीआईबीको कार्यालयमा राखिएको छ ।
सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरीलगायत रहेका थिए । कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत शेयर सदस्य बनेको थियो ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा.भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए । त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो । उक्त जग्गा अहिले अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सन्ज ठाकुर र केही शेयर विनोद चौधरी समेतको नाममा रहेको सीआईबी स्रोतले जनाएको छ ।

कागजात कीर्ते गरेर सरकारी जग्गा हडपेको सम्बन्धमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेको छ । सरकारी जग्गा हडपेकोमा पक्राउ परेका अरुण विनोद चौधरीका सहोदर भाइ हुन् । चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ । विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
‘विनोद चौधरीले दुई हजार कित्ता सरकारी जग्गा हडपेको पाइएको छ । यस सम्बन्धमा गम्भीर अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सरकारी जग्गा हडप्ने कसैलाई उम्किन नदिनू भन्ने गृहमन्त्रीको निर्देशन अनुसार छानबिन गरिरहेका छौं ।’ विनोद चौधरी अहिले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य छन् । व्यक्तिगत लाभका लागि जसो पनि गर्न जानेका चौधरी २०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका थिए ।
यो पनिः धनकुटाका थापाः जसले चौधरीको कम्पनीलाई १० रोपनी जग्गा दिएर सेयर लिने निर्णय गराए
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
थापा विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर सेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थिए । धनकुटा मुगाका थापा लामो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । उनले २१ महिना ८ दिन प्राधिकरणको कार्यकारी निर्देशक जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनी एनआइडिसी ९नेपाल इन्ड्रष्ट्रियल डेभलपमेन्ट कर्पोरेशन०का को महाप्रबन्धक थिए । उनले त्यहाँ ४ वर्षे महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।